Saturday, January 19, 2008

संङघीय लिम्बूवान राज्य परिषदले संविधानसभाको निर्वाचन हुन नदिने

लिम्बुवान्
संङघीय लिम्बूवान राज्य परिषदले संविधानसभाको निर्वाचन हुन नदिने चेतावनी दिएको छ। सङघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा आवद्ध परिषदले सोमबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी निर्वाचनअघि नै राजतन्त्रको समूल अन्त्यसहित सङघीय लोकतान्त्रिक गणतन्त्र र जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अन्तरिम संविधानमा सुनिश्चत गरिनुपर्ने माग गरेको छ। यो माग पूरा नगरी हुने निर्वाचन शाही कालको नगर निर्वाचन जस्तै हुने भएकोले त्यस्तो निर्वाचन बहिष्कार गरिने परिषदका महासचिव मिसेहाङ थाम्सोहाङको भनाइ थियो। उनले सात दलबीच गठबन्धन सरकारले आफ्ना माग बेवास्ता गरे तेस्रो जनआन्दोलनको आँधिबेहेरी ल्याउने चेतावनी पनि दिए। परिषदले माघ २० गते एक दिने सांकेतिक लिम्बूवान बन्दको आह्‍वानसमेत गरेको छ। परिषदको केन्द्रीय विस्तारित बैठकले पारित गरेका निर्णय सार्वजनिक गर्दै महासचिव थाम्सोहाङले अन्तरिम संसदले पारित गरेको आदिवासी अधिकारको प्रयोग गर्दै लिम्बूवान क्षेत्रमा चन्दालगायत आर्थिक संकलनका कार्यलाई निरन्तरता दिने जनाए।
www.limbuwan.blogspot.com
Posted by Mennisam Yapmi in 19:41:00 | Permalink | No Comments »

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २०६२ सालमा स्थापित एक राजनीतिक संगठनको हो । यसले एकात्मक सत्ताको अन्त्य गरी संघीय संरचनाको लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनार्थ आफ्नो मुद्दा र आन्दोलनलाई अघि बढाइरहेको छ । एकात्मक नेपाललाई संघीय संरचनामा रुपान्तरण गर्न यस संगठनले आफ्नो सांगठानिक संरचना पनि संघीय अवधारणा अनुरुप नै विकास र निर्माण गरिरहेको छ । यसै क्रममा लिम्बुवान स्वायत्तताका लागि संघीय लिम्बुवान राज्य परिषद र तामाङ स्वायत्तताका लागि तामाङसालिङ स्वायत राज्य परिषदलगायतका सम्बद्ध राजनीतिक संगठनहरूलाई लिएर मञ्च आफ्नो आन्दोलनमा निरन्तर लागिपरेको छ । यस्ता १० देखि १३ वटासम्मका स्वायत्त राज्य परिषदहरू निर्माण गरेर मञ्च पूर्णता पाउने अभियानमा जुटेको छ । मञ्चले हाल आएर आफ्नो सम्वद्ध संगठनका साथमा अन्य राजनीतिक सवाल मिल्ने संगठनहरू मधेशी जनअधिकार फोरम नेपाल र संयुक्त थारु राष्ट्रिय मोर्चालगायतका राजनीतिक संगठनहरूसंग मोर्चावन्दी गरी संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चामार्फ् पनि आफ्नो आन्दोलनलाई सशक्त बनाइरहेको छ । यस मञ्चले आफ्नो सम्बद्ध संगठन संघीय लिम्बुवान राज्य परिषद र तामाङसालिङ स्वायत्त राज्य परिषदलगायतका आङ्गिक संगठनहरूसंगको सामुहिक सहमति र निर्णयअनुसार राजनीतिक संगठनको मुल्य र मान्यतालाई स्थापित गर्दै अघि बढ्न यही पुस ३० गते निर्वाचन आयोगमा विधिपूर्वक संगठन दर्ता गराइएको छ । यो मञ्च संविधानसभाको पक्षपाती राजनीतिक संगठन भएकोले सफल र र्सार्थक संविधान सभाको निर्वाचन चाहन्छ । तर, मञ्चले विगतदेखि राख्दै आएको तीन सूत्रीय मागहरू संविधानसभा अगावै पूरा नगरी गरिने संविधानसभाको चुनावप्रति असहमति जाहेर गर्दछ । विगतमा जुन कारणले संविधानसभाको सभाको निर्वाचन हुन सकेन ती सबै कारक तत्वहरूको निराकरण अझै पनि नभएकोले यसरी जबर्जस्त गर्न खोजिएको संविधानसभाको चुनाव पुनः पनि हुन नसक्ने ठहरका साथ मञ्च चुनावको तयारीभन्दा पनि माग पूरा गर्न गराउन थप सशक्त शान्तिपूर्ण आन्दोलनमा रहन बाध्यहुने जानकारी सम्वद्ध सबैमा गराउँदछौं ।
मञ्चका मागहरूः
क. संविधानसभाको निर्वाचन अगावै राजतन्त्र र एकात्मक राज्यसत्ताको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्नुपर्ने ।
ख. संविधान सभाको निर्वाचन जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचनप्रणालीको ब्यवस्था गरी सोही सिद्धान्तअनुरुप हुनुपर्ने ।
ग. जातिहरूको ऐतिहासिक पृष्ठभूमि, उत्पत्ति, भाषा र क्षेत्रको आधारमा आत्मनिर्णयको अधिकारसहितको स्वायत्त गणराज्यहरूको स्थापना गर्न सैद्धान्तिकरुपमा अन्तरिम संविधानमै संवैधानिक व्यवस्था गर्नुपर्ने ।
डीबी आङबुङ
सचिवः
प्रचार-प्रसार
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
Posted by Mennisam Yapmi in 19:36:40 | Permalink | No Comments »

संघीय राज्यको माग गर्दै खुकुरी -याली

लिम्बुवान्
पूर्वी नेपालमा संघीय राज्यको माग गर्दै संघीय लिम्वूवान राज्य परिषदको आव्हानमा आदिवासीहरुले खुकुरी -याली गरे । अन्तरिम संम्विधान,सांसद र सरकारमा पनि आदिवासी किराती जनजातिहरुको समान सहभागीता नदेखिएकोले केन्द्रिकृत र एकात्मक राज्य सत्तालाइ पूर्णरुपमा ध्वस्त वनाउदै संघीय जातिय राज्यको निर्माणको लागि पूर्वमा आदिवासी किरातीहरुले आन्दोलन गरेको जनाइएको छ । खुकुरी जुलुस पछि आयोजित सभालाइ सम्वोधन गर्दैसंघीय लिम्वूवान राज्य परिषदका केन्द्रिय सदस्य फक्तेलुङ्गेले आदिवासीहरुको खोसीएको आफ्नो भूमि फिर्ता लिन सशक्त ढङ्गले अगाडी बढीसकेकोले अव जातिय राज्यको निर्माण नभए सम्म आन्दोलन जारी राख्ने वताउनु भयो । कार्यक्रमा आदिवासी जनजाति नेताहरुले जानकारी दिए अनुसार संघीय लिम्वूवान राज्य परिषदलेधनकुटा ,तेह्रथुम ,ताप्लेजुङ्ग,सुनसरी ,मोरङ्ग,झापा,इलाम र पाचथर जिल्लामा खम्वूवानले संखुवासभा,भोजपुर ,उदयपुर,खोटाङ्ग,ओखलढुङ्गामा आन्दोलनको तयारी गरीरहेछ न् ।
Courtesy:www.limbuwan.blogspot.com
Posted by Mennisam Yapmi in 19:33:11 | Permalink | Comments (1) »

लिम्बूवान आन्दोलनका शहीद राजकुमारका परिवारलाई राहत प्रदान

लिम्वूवान
पुस, २५ दमक - लिम्बूवान आन्दोलनका क्रममा प्रहरीको गोली लागी मृत्यू भएका आफ्ना कार्यकर्ता इलाम चुलाचुली-१ निवासी राजकुमार आङदेम्बेको परिवारलाई बुधवार दमकमा एक कार्यक्रमको आयोजना गरी संघीय लिम्बूवान राज्यपरिषद झापाले राहत रकम प्रदान गरेको छ ।संघीय गणतान्त्रिक मोर्चाद्धारा गत असोज १६ गते देखि आव्हान गरेको अनिश्चितकालिन आमहडतालका क्रममा गत २० गते झापा जिल्ला प्रशासनले जारी गरेको कर्फ्यू आदेश उल्लंघन गर्नेक्रममा प्रहरीको गोली लागी केर्खापूर्व कमल खोलामा उनको मृत्यू भएको थियो । उनलाइ असाज २१ ग्ते अन्तिम दाहसँस्कार गर्दै लिम्बूवानका आधुनिक सहिद घोषणा गर्नुभएको थियो । परिषदको झापा जिल्ला समितिद्धारा आयोजित कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव कुमार लिङदेनले आङदेम्बेकी श्रीमती सुनमाया लिम्बूलाई राहत रकमस्वरुप ५० हजार ५० रुपैया प्रदान गर्नुभयो । आयोजकले दिएको जानकारी अनुसार किरात याक्थुङ चुम्लुङ प्रवास समन्वय समिति दुबईले २५ हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको हो । कार्यक्रम परिषद झापाको अध्यक्ष ज्ञानहाङ इम्बुङको सभापतित्वमा सम्पन्न भएको थियो ।
Courtesy: www.limbuwan.blogspot.com
Posted by Mennisam Yapmi in 19:29:18 | Permalink | No Comments »

अन्तरिम संविधानको तेश्रो संशोधित विधेयक दहन

लिम्वूवान
विभिन्न आदिवासी जनजाती, मधेसी, दलित र बहिस्कृत समुदायको साझा राजनीतिक संगठन संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाको आव्हानमा यहि पुस २३ गते काठमाडौंको माइतिघर मण्डला लगायत देशका विभिन्न जिल्ला सदरमुकाम तथा प्रमुख सहरहरूमा अन्तरिम संविधानको तेस्रो संशोधित विधेयकको दहन गरिएको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग सम्बद्ध स्वायत्त संगठनहरू संघीय लिम्बुवान राज्य परिषद, तामाङसालिङ स्वायत्त राज्य परिषद तथा अन्य मोर्चामा आवद्ध संगठनहरू मधेसी जन अधिकार फोरम, नेपाल; संयुक्त थारू राष्ट्रिय मोर्चा, नेपाल; जनजाति दलित पार्टी, मधेसी लोकतान्त्रिक मोर्चा र लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाइमा उक्त संविधानको विधेयक जलाउने कार्य सम्पन्न भएको हो ।
संविधानसभाको निर्वाचन अगावै सफल र सार्थक संविधानसभाको निर्वाचन गर्न गराउनका लागि राजतन्त्र र एकात्मक शासन सत्ताको समूल अन्त्य गरी संघीय गणतन्त्रको घोषणा गर्नुपर्ने, संविधानसभाको चुनाव जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरी गर्नुपर्ने तथा जाति, भाषा र क्षेत्रको ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहित स्वायत्त गणराज्यहरूको स्थापना हुनुपर्ने लगायतका मागहरू राखी मोर्चामा आवद्ध भएर उक्त विभिन्न राजनीतिक संगठनहरूले आन्दोलन जारी राखेका छन् ।
हाल आएर अन्तरिम संविधानको तेस्रो संशोधित विधेयकमार्फत पनि मोर्चामा आवद्ध संगठनहरूले राखेका मागहरू सम्बोधन नगरी पुन: असफल संविधानसभाको नाटक मञ्चन गर्न थालिएकोले यसको सांकेतिक विरोधस्वरूप उक्त संशोधित विधेयकको दहन गरिएको कुरा नेताहरूले बताएका छन् । विधेयक दहन गर्ने कार्य लिम्बुवानको ताप्लिङजोङ, पान्थर, इलाम, विर्तामोड, दमक, केर्खा झापा, विराटनगर मोरङ, र तेह्रथुममा प्रहरी दमनको बावजुद पनि सफलतापूर्वक दहन गर्ने कार्य सम्पन्न भएको छ । त्यसैगरी मधेस र थारूहटका विभिन्न स्थानमा पनि व्यापक जन सहभागिताका साथ सो कार्य सम्पन्न भएको समाचार छ । काठमाडौंको मुटु, माइतिघर मण्डलाको विधेयक दहन कार्यमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष: कमल छाराहाङ, मधेसी जन अधिकार फोरमका उपध्यक्ष: किशोरकुमार विस्वास, संयुक्त थारू राष्ट्रिय मोर्चाका उपाध्यक्ष; यगेन्द्र थारू, जनजाति दलित पार्टीका अध्यक्ष: विसेन्द्र पासवान, मधेसी लोकतान्त्रिक मोर्चाका अध्यक्ष: कदमनरायण चौधरी, र तामाङसालिङ स्वायत्त राज्य परिषदका अध्यक्ष: डी. के. बुद्धिष्ट तामाङ लगायतका नेताहरूको उपस्थिति रहेको थियो । संघीय गणतान्त्रिक मोर्चाले सोहि दिन एक प्रेस विज्ञप्ति जाहेर गरी विधेयक दहन कार्य पूर्णरूपमा सफल भएको दावी गर्दै उक्त कार्यमा भएको प्रहरी दमनको घोर भर्त्सना गरेको छ ।
courtesy: www.limbuwan.blogspot.com
Posted by Mennisam Yapmi in 19:25:20 | Permalink | No Comments »